हामी थकालीहरूको आदि भूमि थाकखोला थासाङ्का मूल निवासी थकाली जातिको इतिहास र संस्कृतिको अनुशीलन गरी यस समुदायको उत्थान, हित र पहिचानका विविध पक्षमा वस्तुपरक तथा वैज्ञानिक अध्ययन-अनुसन्धान गर्न र थकाली प्रतिष्ठालाई अझ ठोस र उज्ज्वल पार्न ‘थकाली अनुसन्धान केन्द्र’ अग्रेजीमा Thakali Research Centre (TRC )स्थापना गरि मिति २०६० साल भाद्र १९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको संस्था हो । यो केन्द्र मुख्यत: अनुसन्धानात्मक र प्राज्ञिक प्रकृतिको मुनाफा कमाउने उद्देश्य नभएको (Non-Profit making) एक अविच्छिन्न उत्तराधिकारवाला र स्वायत्तशासित सामाजिक संगठन हो । केन्द्रले व्यक्तिसरह चल-अचल सम्पत्ति खरिदविक्री गर्न, वन्धक राख्न, दानदातव्य लिन वा दिन सक्नेछ र यसले नालिस र उजुर गर्न सक्नेछ । यस केन्द्रको छुट्टै एक प्रतिकचिन्ह ( Logo) र छाप रहेको छ । केन्द्रको कार्यसमिति संख्या ११ रहेको छ । यस केन्द्रको कार्यालय बिनायकवस्ति बालाजु काठमाडौंमा रहेकोछ ।
थाक सातसय र थकालीबारे संक्षिप्त चिनारी
हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाको दक्षिणी भू-भाग धवलागिरी, निलगिरी हिमालको काखैमा कालीगण्डकी नदीको सेरोफेरो, उत्तरमा-छैरोचे,कालीवदार,गुराँसे डाँडा, दक्षिणमा- बाँदरज्यूङ पहाडको तुरतुरेपानी,पूर्वमा- चिमाङ खोला, पश्चिममा- दहबुकी,सुनछहरा,मुलीक्हाङ यती चार किल्ला भित्रको अवस्थित करिव ९५०.९४ वर्गकिलोमिटर भित्र फैलिएको भू-भाग अन्तरगत १३ गाँउहरूलाई थाक सातसय वा थाकखोला भनिन्छ र यहाँ बसोबास गर्ने आदिवासी जनजाति गौचन, तुलाचन,शेरचन र भट्टचनलाई थकाली भनिन्छ ।
पुर्ख्यौली थातथलो थाक सातसय थकाली समुदायको विशिष्ट गौरवमय इतिहास, संस्कृति र प्रकृतिको अनुपम वैभव भएको र समुदायको आफ्नै पहिचान, भेष-भूषा, भाषा, धर्म संस्कार संस्कृतिको सभ्यता, सामाजिक मूल्य र मान्यताहरू विधमान छन् । थकाली समुदायले परम्परागत मौलिक संस्कृति विधि अपनत्व गरेता पनि बुद्ध धर्मालम्वी हुन । तत्कालीन अवस्थामा थाक १३ गाँउमा सातसय घरधुरी भएको कारणले थाक सातसय भनिएको हो भन्छन् थकाली अग्रजहरू । जुन गाँउको नामहरू यस प्रकार छन् – घाँस लेते, कुन्जो, ताग्लुङ, टिटी, धम्पु, नाकुङ, भुरज्यूङकोट, लारजुङ,कोवाङ, नाउरीकोट,खन्ती र टुक्चे । यीनै गाँउहरूमा थकाली धर्म संस्कृति संग जोडिएका ऐतिहासिक पुरातात्विक सम्पदाको रूपमा ९ गुम्वाहरू छन् । जस्तै मैकी ल्हकाङ गुम्बा- कोबाङ, छैरो गुम्बा- छैरो,क्होम्बसम्ब गुम्बा – टुक्चे, महाकाली गुम्बा- टुक्चे, रानी गुम्बा- टुक्चे, सौरू गुम्बा- सौरू, नरसाङ गुम्बा – नरसाङ, क्हाङ गुम्बा- नाकुङ, ताक्लुङ गुम्बा- ताक्लुङमा छन् । यी गुम्बाहरूको आ-आफ्नै बिशेष्ता र महत्वहरू भएता पनि नरसाङगुम्बा थकाली समुदायको विशेष सांस्कृतिक गुम्बाको रूपमा लिने गर्दछ । साथै थकाली संस्कृति संग अभिन्न अंगको रूपमा प्राकृतिक सम्पदाहरू पनि छन् , जस्तै क्होम्बऊ ( वडार ) प्युङक्युऊ ( वडार ) म्हरस्याङ (चोखोपानी) र क्हुरसांम्बो ऊ (वडार) जो गुरूरिम्पोछेले ७औं शताब्दी तिर ध्यान तपस्या गरेको पवित्र स्थल हुन् ।
एउटा उल्लेखनीय कुरा के छ भने थकाली समुदायमा चाहे विश्वको जुनसुकै भू-भागमा मृत्यु होस् मृतकको एक टुक्रा हड्डी (अस्तु ) भने यसै थासाङ क्षेत्रमा रहेको आफ्नो क्ह्यू ( गोत्र) भित्रको दाज्यूभाईको खिमित्हिम ( अस्तुघर) भित्र ४९ दिन भित्र विधिपूर्वक सेलाउने परम्परा छ । यसरी मृतकको अस्तु खिमीघर भित्र सेलाए पछि मात्र मृतकको आत्माले सन्तोष पाउने विश्वास र परम्परा यो समुदायमा रही आएको छ । यी खिमीघरहरू केही ताक्लुङ टीटिमा बाहेक प्राय थासाङ क्षेत्रमा यत्रतत्र देख्न पाइन्छ । यसैले पनि थासाङ थकाली जातिको सांस्कृतिक धरोहरको पावन केन्द्रस्थल मानिन्छ ।
यी थकाली जातिको आ-आफ्नै चार इष्टदेवीदेवताहरू छन् । जो गौचनको देवता ल्ह् लाङवा न्हुर्वु, तुलाचनको आराध्यदेवी ल्ह् छ्यूरिण ग्याल्मो यी दुइको ल्हत्हिम नकुङ डाँडामा र शेरचनको आराध्यदेवी ल्ह् क्हाङला सिंकीकर्पो र भट्टचनको देवता ल्ह् ह्यावाह्राङज्यूङ देवताको देवमन्दिर कोबाङ खार्पाङ डाँडामा छ । चारचनका देवताका शक्ति समेत छुट्टाछुट्टै छन् । गौचनको देवताको शक्ति हावा हुरीको सन्तुलन मिलाउने , तुलाचनका देवीको शक्ति पानीको सन्तुलन मिलाउने , शेरचनको देवताको शक्ति बाढी पहिरो रोक्न सक्ने र भट्टचनको देवताको शक्ति नून अन्न र व्यापार वृद्धि गर्ने शक्तिको रूपमा लिएको छ । थकालीहरूका यी चार आराध्यदेवताहरूको शक्तिको विश्लेषणले यी समुदाय प्रकृति र पितृपुजक हुन भन्ने सजिलै आंकलन गर्न सकिन्छ । किनभने थकाली समुदायको विशेष चाडपर्व तोरन्लमा पनि पुर्णीमालाई बीचमा पारेर ३ दिन मध्यरातमा पितृहरूलाई स्मरण गरेर ३२ व्यञ्जन बनाई अर्पण गर्ने परम्परा रहि आएको छ ।
थकालीहरूका परम्परागत मूर्त-अमूर्त संस्कृतिको रूपमा स्थापित ट्होम् ( झाँक्री) र ट्हुम्व सम्पदा परम्परालांई आंशिक रूपमा जोगाईराखेको अवस्था छ । यी समुदायले परम्परादेखि जन्म देखि मरण सम्मका संस्कार आफ्नै स्वजातिय ट्होम ( झाँक्री), ट्हुम्व विधिबाट कार्य सम्पन्न हुने गर्दछन् । हाल ट्होमहरू प्रयाप्त मात्रामा उपलब्ध नहुँदा बदलिदो समय परिस्थिति अनुसार लामा विधिबाट पनि यी समुदायले आफ्नो संस्कारका कार्यहरू सम्पन्न गर्ने गर्दछन् ।
थाक सातसयमा आदिमकालदेखि नै समुदायको परम्परागत मुखिया प्रणाली सामाजिक र सांस्कृतिकको अभिन्न अंगको रूपमा जीवन्तता पाइरहेको छ । प्रत्येक मूल १३ गाँउमा १३ मुखियाहरू छन् । यी मुखियाहरू मध्य मिरमुखिया,उपमिरमुखिया र तहबिल मुखिया हुन्छन् । मुखियाहरूले गाँउका परम्परागत सामाजिक रीतिथिति संस्कार, बनजंगल, पुजाआजा र चाडपर्वहरूको उचित ब्यवस्थापन र क्रियान्वयन गर्ने गर्दछन् । थकाली संस्कृति संस्कार रीतिथिति परिपालना र परिचालनका लागि आ-आफ्ना चार प्ह्यामा क्हम्बहरू पनि चुनिएका हुन्छन् । जसमध्ये गौचन च्योकी प्ह्याको मात्रै दुईजना क्हम्ब हुन्छ भने अन्य चनको भने १/१ जनानै चुनिएका हुन्छन् । यी क्हम्बहरूको पनि आ-आफ्नो प्ह्यालाई एकताबद्ध तुल्याई प्ह्याको सांस्कृतिक सामाजिक जिम्मेवारी कर्तव्यहरू निवारण गर्ने दायित्व हुने गर्दछ । यसरी नै चारै प्ह्या (थर)को आ-आफ्नै पाँडे (पुजारी) हुन्छन् । पाँडेहरूको काम कर्तव्य चारै ल्हत्हिम मन्दिरको आ-आफ्ना इष्टदेवको पुजा अर्चना गर्दछन । चार पाँडेको ल्हफेव १२ वर्षे मेलामा विशेष भूमिका रहेको हुन्छ । बदलिदो परिस्थितिमा थकाली ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक रीतिथिति भेष-भूषा भाषा संस्कार संस्कृतिको संरक्षण संबर्द्धन वा सर्वाङ्गीण हक हित र विकासका लागि थकाली सेवा समिति नेपाल ( केन्द्र) थकाली अनुसन्धान केन्द्र, एवम् प्रकारले नेपाल भरी १९ क्षेत्र र विदेशमा पनि विभिन्न देशहरूमा जस्तै थकाली सेवा समिति जापान, थकाली सेवा समिति अष्ट्रेलिया, थकाली सेवा समिति युके , थकाली सेवा समिति बेल्जियम, थकाली सेवा समिति हङकङ, थकाली सेवा समिति अमेरिकामा समेत स्थापित छन् । यस्तै नेपालमा थकाली महिला परिवार (केन्द्र) र क्षेत्रहरू, थकाली युवा परिवार केन्द्र र क्षेत्रहरू, यसैप्रकारले नेपाल जापान सम्पर्क समिति, थासाङ स्पोर्टस कलव, थकाली स्वास्थ्यकर्मी परिवार, हालै मात्र थकाली भान्छा घर संघ नेपाल पनि स्थापित भएको छ । यसरी हेर्दा थकालीहरू आफ्नो पहिचान, अस्तित्व, प्रतिष्ठा, अस्मितालाई बचाई राख्न विश्वभरी छरिएर बसोबास गर्ने थकाली समुदाय एकतावद्ध, कटिवद्ध र प्रतिवद्ध छन भन्ने कुरामा ठोकुवाका साथ भन्न सकिन्छ । यहिनै थकाली समुदायको उज्वल भविष्यको सूचक हो भन्न सकिन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । कुनै पनि समुदायको सांस्कृतिक सामाजिक उत्थान राष्ट्रै कै उत्थान हुन् । थकाली समुदायले नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजातिले अवलम्बन गर्दै आईरहेको धर्म, संस्कृतिको हार्दिकताका साथ सम्मान र कदर गर्दछ । साथै समाज र राष्ट्रको सर्वाङ्गीण विकास र हक हितका लागि सदा कटिवद्ध र प्रतिवद्ध छ ।