इतिहास नै भविष्यको मार्ग दर्शन हो भने,
संस्कृति हाम्रो पहिचान हो ।
आदरणीय महानुभावहरु
थकाली अनुसन्धान केन्द्रको यो होमपेजमा हार्दिक स्वागत एवम् न्यानो अभिवादन् ।
सर्वप्रथम त कोभिड-१९को महामारीले अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण हाम्रा थकाली अग्रज मान्यजन तथा दाज्यूभाई दिदीबहिनीहरूमा श्रदासुमन अर्पण गर्न चाहन्छु । साथै विश्वभरी स्थायी वा अस्थायीरूपमा बसोबास गर्नुहुने सम्पूर्ण दाज्यूभाई दिदीबहिनीहरूको सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु ।
थकाली अनुसन्धान केन्द्र, थकाली जातिको इतिहास आनुवंशिकी तथा संस्कृति आदि क्षेत्रसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित बिषय र सवालहरूमा वैज्ञानिक अध्ययन, सर्वेक्षण र अनुसन्धान गर्ने उद्देश्यले वि. स. २०६० भाद्र १९ गते विधिवत जिल्ला प्रशासन कार्यालय काठमांडौमा दर्ता भएको सेवामूलक संस्था हो । स्थापनाकाल देखि नै यस संस्थाले प्रत्यक्ष अप्रत्यक्षरूपमा थकाली समुदायको इतिहासबारे अध्ययन अनुसन्धान अन्वेषण गर्दै आईरहेको छ । यस संस्थाको हक हित र शसक्तिकरणका लागि मिति २०७७ चैत १० गते नव निर्वाचित कार्यसमितिको पहिलो वैठकमा संस्थाको हालसम्मका कार्य प्रगति समिक्षा गर्दै अवको कार्यक्रममध्ये आर्थिकपक्षलाई उच्च प्राथमिक्ता दिएका छौं । किनभने यस संस्थाले लामो समयको अन्तरकालमा सम्म पनि आर्थिक दृष्टिले आत्मनिर्भर हुने कुनै आर्थिक पाइलो नचाल्दा संस्थागत लक्ष्य उद्देश्यहरू ओझेलमा परेको सत्यतथ्यलाई आत्मसात गर्दै, अर्थ बिनाको परिकल्पना निर्थक हुने महशुस गरी लक्षित चुनौतिहरूलाई सामना गर्न यो समितिले अठोट गरेका छौं ।
नेपालको पर्यटकीय र धार्मिक दुबै दृष्टिकोणले प्रख्यात जिल्ला हो मुस्ताङ । धौलागिरी र निलगिरी हिमाल पार गरेर जानुपर्ने भएकाले यस जिल्लालाई हिमालपारीको नामले समेत चिनिन्छ । यीनै हिमालको काखमा र काली गण्डकी नदीको किनारमा अवस्थित (थाक सातसय ) सुन्दर थासाङ उपत्यका थकाली समुदायको संस्कार संस्कृतिको उद्गम स्थल हो । यसकारणले पनि थासाङलाई थकाली संस्कार संस्कृतिको धरोहरको केन्द्र स्थल मानिन्छ । यस जातिको पनि आफ्नै छुट्टै मौलिक पहिचान भेष-भूषा भाषा संस्कार संस्कृति मूर्त-अमूर्त (Tangible-Intangible) पुरातात्विक सम्पदाहरू छन् । यीनै अमूल्य सम्पदा हाम्रा पहिचान हुन । सम्पदाहरू लोप हुनु भनेको हाम्रो अस्तित्व प्रतिष्ठा अस्मिता लोप हुनु हो ।
कुनै पनि समुदायको संस्कृतिको निर्माण र विकास हजारौं वर्षको निरन्तरताबाट मात्र भएको हुन्छ । त्यसैले हरेक समुदायको संस्कृति हजारौं बर्षको त्याग र तपस्याको क्रमबद्ध इतिहास हो । तर वर्तमान समय विश्वव्यापीकरणको आधारमा संचालित छ ।विश्वव्यापीकरण (Globalization )देश विदेशमा स्थानान्तरण र रुपानान्तरणले गर्दा आफ्नो मौलिक पहिचान भेष भूषा भाषा संस्कारको क्रियान्वयन, पुस्तान्तरण र हस्तान्तरणमा थप चुनौतिहरु देखापरेका छन् । थकाली समुदाय पनि विश्वका विभिन्न देशहरूमा स्थायी वा अस्थायीरूपमा बसोबास गर्दछन् । उनीहरू तथा उनीहरूका सन्ततिहरू आफ्नो प्राचिन मौलिक संस्कृतिदेखि बेखबर बन्न थालिरहेका छन् । यस्तो दुःखद् अवस्थामा यस प्रकारको अध्ययन अनुसन्धान र अभिलेखीकरणबाट थकाली इतिहास संस्कृतिबारे संसारका जुनसुकै भू-भागमा छरिएर रहे पनि आफ्नो प्राचीन इतिहास संस्कृतिलाई अवलोकन गर्न र अबलम्बन गर्नका लागि समेत यो अनुसन्धानको अत्यन्त ठूलो महत्व रहनेछ भन्ने कुरामा आशावादी छु ।
सर्व विदितै भएको कुरा हो अनुसन्धान भन्ने कुरा सहज विषय पनि होइन, यो कालान्तार सम्म निरन्तर चलिरहने विषय हुन् तथापि आम थकालीहरुको जिज्ञाशा थकाली को हुन् ? र यस जातिको इतिहास मौलिक पहिचान वेष-भूषा, भाषा, कला कौशल, चाड पर्व धर्म संस्कार संस्कृतिको वैज्ञानिक अध्ययन अनुसन्धान अन्वेषण संवर्द्धन र प्रवर्द्धनका लागि नगरी नहुने केही तल उल्लेखित कार्ययोजनाहरू अपनाएका छौं ।
उद्देश्य:
थकाली जातिको इतिहास लेखन् तथा भाषा संस्कृति संरक्षण संवर्द्धन र प्रवर्द्धन ।
कार्य योजनाः
नं. १: थकाली चारैचनको पौराणिक ‘ह्रव ग्रन्थ’ नेपालीमा अनुवाद गर्ने गराउने ।
नं.२. थकालीबारे अन्य पौराणिक अभिलेखहरू खोज अनुसन्धान गर्ने ।
नं.३. थकाली जातिबारे अभिलेखहरू विज्ञहरू संग गोष्ठी तथा अन्तरक्रिया गर्ने ।
नं.४. थकाली समुदायको DNA (deoxyribonucleic acid) आनुवंशिकीबारे वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने गराउने ।
नं.५. थकाली समुदायका के कस्ता सांस्कृतिक चाड-पर्व परम्पराहरू छन् खोजी गर्ने गराउने र वृत्तचित्र (Documentry) बनाउने ।
नं.६. थकाली विज्ञ इतिहासकारहरूको टोली गठन गरी थकाली इतिहास वैज्ञानिक अध्ययन अनुसन्धान लेखन तथा मुद्रण गर्ने ।
नं.७. थकाली भाषा, खिमी च्हुजी क्होयी प्हरफ्याव, तोरन्ल क्होयी आदि क्रमश सबै क्षेत्रहरूमा भाषा तथा संस्कृति विज्ञहरूद्वारा प्रशिक्षण वा तालिम दिने ।
नं.८. थकाली,नेपाली,अंग्रेजी शब्दकोष (डिक्श्नेरी) मोबाइल एप्स तयार पार्ने ।
आदरणीय महानुभावहरु
“इतिहास नै भविष्यको मार्गदर्शन हो, भने संस्कृति मानव इतिहासको पहिचान हो “। संस्कृतिको विकास व्यक्तित्वका लागि बरदान हो, भने व्यक्तित्वको विकास संस्कृतिको सौभाग्य हो । अतः यी महत्वपूर्ण संस्कृति जीवन्त रहे मात्र हामी रहौला, नत्र हामी कहाँ रहौंला ? संस्कृतिले नै सुन्दर सभ्य समुदायको परिचय दिएको हुन्छ । संस्कृति र समाजको सम्बन्ध नङ र मासुको सम्बन्ध झै प्रगाढ हुन्छ । संस्कृति बिनाको समाज कल्पना पनि गर्न सक्तैनौं । अतः आफ्नो मौलिक अस्तित्व र पहिचान बचाउन ” हामी सबैको सहकार्य, संस्कृतिका लागि अपरिहार्य ” आजको ज्वलन्त माग रहेको छ ।
Nelson Mandela को एउटा अति सुन्दर भनाई स्मरण गर्न चाहन्छु, “Action without vision is only passing time, vision without action is merely day dream, but vision with action can change the world. अत: यो समितिले कुरा भन्दा कामलाई प्राथमिक्ता दिएका छौं । “If you can dream it, You can do it.” -Walt Disney को भनाईको प्रेरणा लिदै अगाडि बढिरहेका छौं । थकाली जातिको इतिहास लेखन तथा भाषा संस्कृति संरक्षणको लागि सम्पूर्ण थकाली समाजसेवी महानुभावज्यूहरू लगायत र संस्थागतरूपमा थकाली सेवा समिति नेपाल (केन्द्र) देखि देश विदेशमा स्थापित थकाली सेवा समिति क्षेत्रीय समिति र भातृ संघ संस्थाहरूमा विशेष आग्रह गर्दछु कि, यस पवित्र ठोस कार्य योजनाको लागि सबैको साझा प्रतिवद्धता वचनवद्धता, कटिवद्धता र एकतावद्धताको बाञ्छनीय भएको छ ।अत: यस्तो महत्वपूर्ण कार्य हामीले नगरेर कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? यो नै थप चासो र चिन्ताकाे विषय बनेको छ । थकाली समुदाय आर्थिकरूपमा सम्पन्न हुनु सुखद् पक्ष होला तर अहिल्य सम्म पनि थकाली जातिको गौरवमय इतिहास लेखन कार्यमा बिलम्ब हुनु दु:खद् पक्ष हुन् भन्ने आभास भईरहेको छ ।
वास्तवमा हामीले आफ्नो लागि के के गर्यौ ? भन्दा पनि समाज र राष्ट्रको लागि के गर्यौ ? भन्ने कुरा ठूलो महत्व राख्दछ भने झै
थकाली समुदायको बहुमूल्य संस्कृति उत्थानको लागि स्थापना कालमा नै थकाली सेवा समिति जापानद्वारा संस्थापक सदस्यको नाताले स्थापित ९ लाख अक्षयकोष अत्यन्त अनुकरणीय, प्रशंसनीय र अविस्मरणीय रहेको छ । साथै यसरी नै थसेस वेल्जियमबाट थकाली जातिका सामाजिक संस्कार तथा पर्वहरू कार्यविधि पुस्तिका प्रकाशनको लागि पुर्याउनु भएको आर्थिक सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । यसैगरि अन्य महानुभावहरूमा थकाली अनुसन्धान केन्द्रका पूर्व सचिव श्री सुशिलकुमार भट्टचनज्यूद्वारा उहाँको धर्मपत्नि एवम् महिला परिवारका पूर्व अध्यक्ष स्व. रञ्जु भट्टचनको स्मृतिमा र श्री महेन्द्र तुलाचनज्यूद्वारा आफ्ना भाई थसेस जापानका पूर्व संरक्षक स्व. योगेनमान तुलाचनको स्मृतिमा प्रदान गर्नु भएको आर्थिक सहयोगको लागि स्मरण गर्दै हार्दिक कृतज्ञतापूर्वक धन्यवाद दिन चाहन्छु । यसैगरी हाल अष्ट्रेलिया निवासी समाजसेवी श्री सुदिप गौचनज्यूबाट भिडियो प्रोजेक्टर प्रदान गर्नु भएकोमा हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्न चाहन्छु । अनुसन्धान केन्द्रलाई सदा अत्यन्त माया, प्रेरणा र उत्साह प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूमा विशेष धन्यवाद नमन व्यक्त गर्न चाहन्छु । अन्तमा हाम्रा आराध्यदेव ल्हप्ह्ली ल्ह् लाङवा न्होर्वु, ल्ह् छ्यूरिन ग्याल्मो,ल्ह् क्हांलासिंकी कर्पो, ल्ह् ह्यावार्याङज्यूङ र महागुरू नरिच्ह्योवले हामी सबैको रक्षा र कल्याण गरून भन्दै विदा चाहन्छु । होर्छे🙏